काठमाडौँ,३१ वैशाख । देशका विभिन्न स्थानमा भइरहेको डोजर कारबाही र त्यसलाई ‘संस्थागत हत्या’को संज्ञा दिँदै सुकुमबासी संगठनहरूले राजधानीको माइतीघर मण्डलामा खबरदारी प्रदर्शन गरेका छन्। अखिल नेपाल सुकुमबासी संघ र संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आयोजनामा भएको प्रदर्शनमा ठूलो संख्यामा भूमिहीन तथा सुकुमबासीहरू सहभागी भएका थिए।
प्रदर्शनकारीहरूले सुकुमबासी बस्तीहरूमा विकल्पबिनै डोजर चलाइँदै विस्थापन गरिएको भन्दै राज्य र स्थानीय प्रशासनमाथि दमनको आरोप लगाएका छन्। उनीहरूका अनुसार समस्या समाधानको साटो बल प्रयोग गरी बस्ती हटाउने प्रयास भइरहेको छ, जसलाई उनीहरूले “संस्थागत हत्या” भनेका छन्।
आन्दोलनकारीहरूले तत्काल डोजर कारबाही रोक्न, सुकुमबासीहरूको जिउधनको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई वैकल्पिक बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीहरूले विभिन्न नारासहित प्लेकार्ड प्रदर्शन गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले भूमिहीन तथा सुकुमबासीको संवैधानिक अधिकार सुनिश्चित गर्दै दीर्घकालीन समाधान खोज्न सरकारलाई दबाब दिएका छन्।



