जनकपुर,३१ वैशाख । मधेश प्रदेशसभाका सभामुख रामआशिष यादवले मधेश प्रदेशमा कुपोषण न्यूनीकरण र मातृ–शिशु स्वास्थ्य सुधारका लागि सरकार, स्थानीय तह तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।
लालगढमा आयोजित तीनदिने प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले पोषणको विषय स्वास्थ्य क्षेत्रमा मात्रै सीमित नरहेको उल्लेख गरे। शिक्षा, कृषि, खानेपानी, सरसफाइ र सामाजिक चेतनासँग समेत प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले बहुआयामिक ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो।
सभामुख यादवले मधेश प्रदेशमा अझै पनि महिला र बालबालिकामा कुपोषणको समस्या गम्भीर चुनौतीका रूपमा रहेको बताए। उनले दीर्घकालीन नीति, व्यवहारिक योजना र प्रभावकारी कार्यान्वयनमार्फत मात्रै समस्या समाधान सम्भव हुने धारणा राखे।
कार्यक्रममा मधेश प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपाकुमारी यादवले महिलाको स्वास्थ्य, बालअधिकार र पोषण सुरक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्नेमा जोड दिइन्। ग्रामीण तथा विपन्न समुदायमा अझै पोषणसम्बन्धी चेतनाको अभाव देखिएकाले स्थानीय तहसँग सहकार्य गरेर जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवडा. प्रमोद यादवले गरिबी, अशिक्षा, असन्तुलित खानपान र बढ्दो जनसङ्ख्याका कारण कुपोषण चुनौतीपूर्ण बन्दै गएको बताए।
सम्मेलनमा पोषण, खाद्य सुरक्षा, मातृ तथा शिशु स्वास्थ्य, किशोरी पोषण र पोषणमैत्री नीति कार्यान्वयनलगायत विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ।



