रौतहट,३१ वैशाख । रौतहटका विभिन्न बजारमा प्रभावकारी अनुगमन नहुँदा उपभोक्ता महँगी र मनपरी मूल्यको मारमा परेका छन्। गौर, गरुडा, कटहरिया, गंगापिपरा र समनपुरलगायत क्षेत्रका व्यापारीहरूले खाद्यान्नदेखि लत्ताकपडासम्मका सामग्रीमा अत्यधिक मूल्य असुलेको गुनासो बढ्दै गएको हो।
स्थानीय उपभोक्ताका अनुसार अधिकांश पसलमा मूल्यसूची राखिएको छैन भने सामान खरिद गर्दा बिलसमेत दिइँदैन। यसका कारण व्यापारीहरूले एउटै सामान फरक–फरक मूल्यमा बिक्री गर्दै आएका छन्। गौरका स्थानीय दिलीपकुमार पाण्डेले व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा २० देखि ३० प्रतिशतसम्म बढी मूल्य लिइरहेको आरोप लगाए।
गरुडाबाट किनमेल गर्न गौर पुगेकी सुनिता जयसवालले बजारमा पसलपिच्छे मूल्य फरक रहेको बताइन्। उनले मूल्य नियन्त्रण र अनुगमन प्रभावकारी नहुँदा न्यून आय भएका परिवार सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरिन्।
स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सम्बन्धित निकाय बजार व्यवस्थापनमा उदासीन बनेको आरोप लगाएका छन्। बजार अनुगमन समिति सक्रिय नहुँदा अनियमितता बढ्दै गएको उनीहरूको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले मासिक अनुगमनको योजना बनाए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको कर्मचारीहरू नै स्वीकार गर्छन्। अनुगमन मुख्य रूपमा गौर, गरुडा र चन्द्रनिगाहपुरमा सीमित रहेको गुनासो छ।
घरेलु तथा साना उद्योग कार्यालय रौतहटका अनुसार चालु आर्थिक वर्षमा बजार अनुगमनका लागि न्यून बजेट विनियोजन भएका कारण नियमित अनुगमन गर्न कठिन भएको हो।
त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय ले कर्मचारी अभावका कारण अनुगमन प्रभावित भएको जनाएको छ।
उपभोक्ताहरूले बजारमा बढ्दो बेथिति रोक्न सम्बन्धित निकाय तत्काल सक्रिय हुनुपर्ने माग गरेका छन्। निजी क्षेत्रले समेत सहकार्य गर्न तयार रहेको बताउँदै प्रभावकारी अनुगमन बिना उपभोक्ता ठगिने क्रम नरोकिने निष्कर्ष निकालिएको छ।



