रौतहट,३१ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत जुडीबेला चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब ३:५० बजे सडकमा एक पुरुष लडिरहेको अवस्थामा देखिएको सूचना इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्राप्त भएको थियो। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको जनाएको छ।
मृतकको पहिचान चन्द्रपुर नगरपालिका–२ जुडीबेला निवासी अन्दाजी २१ वर्षीय अन्जय कुमार यादवका रूपमा भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान परिवारका सदस्यहरूले पुष्टि गरेका हुन्।
प्रहरीका अनुसार शवलाई कानुनी प्रक्रिया पूरा गरी बिहान ६:१५ बजे पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको तथा उनी मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको छ।



