spot_img

भारतका विभिन्न राज्यमा मौसमको चरम प्रभाव: उत्तर प्रदेशमा आँधीहुरीले ९४ जनाको मृत्यु

spot_img
spot_img

काठमाडौं,३१ वैशाख । छिमेकी राष्ट्र भारतका विभिन्न राज्यहरूमा चरम मौसमीय अवस्था देखिएको छ। उत्तर प्रदेशमा आएको भीषण हावाहुरी र आँधीका कारण ९४ जनाको मृत्यु भएको छ। प्रयागराज र अयोध्यासहित करिब ३० जिल्लामा असर परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

सबैभन्दा बढी मानवीय क्षति प्रयागराजमा १७ र भदोहीमा १६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। करिब ८० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीले व्यापक क्षति पुर्‍याएको बताइएको छ। बरेलीमा एक युवक जस्तापातासँगै हावाले उडाएको घटनासमेत सार्वजनिक भएको छ।

यसैबीच, राजस्थान राज्यमा अत्यधिक गर्मी र लु (हीटवेभ) ले जनजीवन प्रभावित भएको छ। जैसलमेर लगातार चौथो दिन पनि देशकै सबैभन्दा तातो सहर बनेको छ, जहाँ तापक्रम ४६.१ डिग्री सेल्सियस पुगेको छ। मौसम विभागले बीकानेर, जोधपुर, जैसलमेर र बाडमेरमा कडा गर्मीको रेड अलर्ट जारी गरेको छ भने १३ जिल्लामा हीटवेभको चेतावनी दिइएको छ।

मध्य प्रदेशका २५ भन्दा बढी जिल्लामा पनि हीटवेभको असर देखिएको छ, जुन अवस्था आगामी १८ मेसम्म रहन सक्ने अनुमान गरिएको छ। खजुराहोमा तापक्रम ४५.४ डिग्री सेल्सियस पुगेको छ भने इन्दौर, उज्जैन, धार र रतलाममा ओरेंज अलर्ट जारी गरिएको छ।

हरियाणामा पनि तापक्रम लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा अधिकतम तापक्रम १.२ डिग्री सेल्सियसले वृद्धि भएको छ र केही सहरहरूमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ। नारनौलमा ४२.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

यसैगरी बिहारका केही जिल्लामा भारी वर्षाको ओरेंज अलर्ट जारी गरिएको छ भने उत्तराखण्डका पहाडी क्षेत्रहरूमा वर्षाको येलो अलर्ट जारी गरिएको छ। भारतका विभिन्न राज्यमा मौसमको यो असामान्य अवस्था अझ केही दिन जारी रहने मौसम विभागले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय