काठमाडौं,३१ वैशाख । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर पुनः घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार वैशाखको तुलनामा जेठमा औसत ब्याजदर घटेको देखिएको छ।
बैंकहरूका अनुसार जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.४ प्रतिशतबाट घटेर ४.३ प्रतिशतमा झरेको छ। केही बैंकले ब्याजदर बढाए पनि धेरै बैंकले स्थिर राखेका वा घटाएका कारण समग्र औसत घटेको हो।
बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) बढेपछि ब्याजदर घट्ने क्रम जारी रहेको देखिन्छ। हाल बैंक तथा वित्तीय संस्थासँग करिब १२ खर्ब रुपैयाँभन्दा बढी कर्जा दिन मिल्ने रकम रहेको छ। कर्जा प्रवाह सुस्त भएकाले बैंकहरूले सस्तो दरमा नेपाल राष्ट्र बैंकमा रकम राख्नुपर्ने अवस्था समेत आएको छ।
अहिले वित्तीय क्षेत्रमा कुल ७९ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन भए पनि ५८ खर्ब ७७ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको तथ्यांक छ।
बैंकहरूमध्ये सबैभन्दा बढी ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको ४.७५ प्रतिशत रहेको छ भने सबैभन्दा कम कुमारी बैंकको ३.९६ प्रतिशत रहेको छ।
यता चैत महिनामा उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ। तर मुद्दती निक्षेपको अधिकतम ब्याजदर नै मुद्रास्फीतिभन्दा तल झरेपछि बचतकर्ताको वास्तविक प्रतिफल नकारात्मक हुने जोखिम बढेको विज्ञहरूले बताएका छन्। यसले बैंकमा निक्षेप राख्ने आकर्षण घट्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।



