spot_img

भारतीय कस्टमको ढिलाइले बीरगन्ज आईसीपीमा मालवाहक गाडी व्यवस्थापन प्रभावित

spot_img
spot_img

बीरगन्ज,३१ वैशाख । बीरगन्ज भन्सार कार्यालय अन्तर्गत रहेको एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा भारततर्फबाट बिहानै मालवाहक सवारी साधन जाँचपास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो गरिएको छ।

सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटोछरितो बनाउने तथा आयात–निर्यातलाई सहजीकरण गर्ने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारततर्फ समान संरचनासहित आईसीपी निर्माण गरिएको थियो। तर, सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाडी नेपालतर्फ पठाउन नमानेको सरोकारवालाहरूको भनाइ छ।

नेपालतर्फ आईसीपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवतजावत व्यवस्थापन गर्दै आएको टिआरएस हिमालयन लजिपार्क प्रालि का टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेका अनुसार दुई वर्षदेखि बिहानै गाडी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान ११ बजेअघि कहिल्यै गाडी नपठाएको बताए।

उनले भने, “हामी बिहान ७ बजे नै यताबाट गाडी पठाउन तयार छौं। तर भारतीय कस्टमबाट बिहानै जाँचपास गरेर पठाउन आग्रह गर्दा समेत अहिलेसम्म बिहान ११ बजेभन्दा पहिले गाडी पठाउने गरेका छैनन्।” घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाडी पठाउन नसकिने बताउने गरेको छ। यस विषयमा बीरगन्ज भन्सार कार्यालय का प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले पनि भारतीय पक्षले कार्यान्वयनमा आनाकानी गरिरहेको बताए।

उनले काउन्टरपार्ट मिटिङ तथा भारतीय कस्टम कार्यालयमा समेत पटक–पटक कुरा उठाइएको भए पनि व्यवहारमा सुधार नभएको उल्लेख गरे। नेपाल–भारत सीमामा हुने चोरी, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका स्थानीय अधिकारी सम्मिलित सीमा सुरक्षा समन्वय समिति सक्रिय रहेको छ। यस विषयमा आवश्यक समन्वय र सहजीकरणका लागि पहल गर्ने भोला दाहाल ले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय