काठमाडौँ,३१ वैशाख । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएपछि बैंकिङ क्षेत्रका प्रमुख चार छाता संगठनहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पाण्डेलाई नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।
संघहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार कर्जा असुली बैंकहरूको कानुनी अधिकार र नियमित जिम्मेवारी भएको उल्लेख गरेका छन्। विज्ञप्तिमा प्रमुख कार्यकारी अधिकृतको भूमिकाभित्र पर्ने कर्जा असुली प्रक्रियाकै कारण बैंक नेतृत्वलाई पक्राउ गर्नुले वित्तीय क्षेत्रप्रति नकारात्मक सन्देश जाने उल्लेख गरिएको छ।
उनीहरूले यस्तो घटनाले बैंकिङ प्रणालीको विश्वसनीयता कमजोर बन्न सक्ने तथा वित्तीय स्थायित्वमा असर पर्ने चेतावनी दिएका छन्। साथै, अनुसन्धान प्रक्रियामा कानुनी सिद्धान्त “सुन अनि थुन” लाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै पाण्डेलाई थुनाबाहिरै राखेर निष्पक्ष अनुसन्धान अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।



