वीरगन्ज,०१ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान प्रक्रिया विवादमा परेको छ। शिक्षक सरुवा तथा व्यवस्थापनलाई लिएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच सार्वजनिक मतभेद देखिएपछि शिक्षा प्रशासन तनावग्रस्त बनेको छ।
गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट महतोले दरबन्दी मिलान प्रक्रिया गैरजिम्मेवार, बदनियतपूर्ण र गैरकानुनी ढंगले अघि बढाइएको आरोप लगाउँदै तत्काल प्रक्रिया रोक्न सूचना जारी गरेकी छन्। उनले हाललाई शिक्षकको हाजिरी नगराउन, रमाना नदिन तथा थप सरुवा प्रक्रिया स्थगित गर्न निर्देशन दिएको जनाइएको छ।
तर गाउँपालिका अध्यक्ष जशवन्त यादवले भने उपाध्यक्षको कदम नियमविपरीत भएको बताएका छन्। उनका अनुसार शिक्षा समिति तथा सामुदायिक विद्यालय दरबन्दी मिलान कार्यदल–२०८२ को प्रतिवेदनका आधारमा शिक्षक व्यवस्थापन गरिएको हो।
अध्यक्ष यादवले प्रारम्भिक चरणमा उपाध्यक्षले नै प्रक्रियामा सहमति जनाएको दाबी गर्दै अहिले विरोध गर्नु अस्वाभाविक भएको बताएका छन्। गाउँपालिकाभित्र रहेका २९ विद्यालयमा १८३ शिक्षक कार्यरत रहेको उल्लेख गर्दै उनले आवश्यकता अनुसार विषयगत तथा तहगत आधारमा शिक्षक खटाइएको स्पष्ट पारे।
उनका अनुसार महुवनस्थित जानकी राजेश पण्डित आधारभूत विद्यालयमा स्थायी शिक्षकको अभाव रहेकाले त्यहाँ चार स्थायी, दुई राहत र एक अतिरिक्त शिक्षक पठाइएको हो। उक्त विद्यालय लामो समयदेखि करार कर्मचारीको भरमा सञ्चालन हुँदै आएको उनले बताए।
अध्यक्ष यादवले विद्यालय व्यवस्थापनमा वर्षौंदेखि ‘सिन्डिकेट’ चलिरहेको आरोपसमेत लगाएका छन्। यता, दरबन्दी मिलानको विरोधमा उत्रिएका पक्षले भने शिक्षक सरुवामा आर्थिक चलखेल भएको आरोप लगाएका छन्। राजनीतिक प्रभाव विस्तार गर्न अयोग्य व्यक्तिलाई प्रधानाध्यापक बनाउने प्रयास गरिएको उनीहरूको दाबी छ।
विवाद चर्किंदै जाँदा गाउँपालिकाको शिक्षा क्षेत्र थप विवाद र तनावको केन्द्र बन्दै गएको छ।



