काठमाडौं,०१ जेठ । लामो समयदेखि स्थानीय मुआब्जा विवाद र जग्गा समस्याका कारण रोकिँदै आएको हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण लाइन निर्माण कार्य पुनः अघि बढेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलपछि प्रभावित स्थानीय, जनप्रतिनिधि र सरोकारवालासँग भएको निरन्तर छलफल तथा सहमतिपछि निर्माणले गति लिएको हो । जग्गाधनीहरूले मुआब्जा स्वीकार गरेपछि टावर निर्माण कार्य पुनः सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हेटौँडा क्षेत्रमा पर्ने १४ मध्ये हालसम्म ३ वटा टावर निर्माण सम्पन्न भइसकेका छन् भने २ वटा टावरको इरेक्सन (ठड्याउने) कार्य जारी छ । बाँकी संरचनाहरूको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।
सन् २०१२ देखि सुरु भएको यो २८८ किलोमिटर लामो प्रसारण लाइनमध्ये ढल्केवर–इनरुवा खण्ड तीन वर्षअघि नै सञ्चालनमा आइसकेको थियो । तर हेटौँडा–ढल्केवर खण्डमा मुआब्जा विवादका कारण काम लामो समयदेखि अवरुद्ध थियो ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार टावर निर्माणसँगै क्षतिपूर्ति वितरण प्रक्रिया पनि समानान्तर रूपमा अघि बढाइएको छ । उनले प्रभावित नागरिकलाई कानुनअनुसार उचित मुआब्जा उपलब्ध गराइने बताए ।
श्रेष्ठले समयमै आयोजना सम्पन्न नभए वर्षायाममा उत्पादन हुने करिब ८०० मेगावाट विद्युत् प्रसारण हुन नसकी ठूलो ऊर्जा खेर जाने जोखिम रहेको चेतावनीसमेत दिएका छन् ।
आयोजना पूरा भएपछि राष्ट्रिय विद्युत् ग्रिड सुदृढ हुने, आपूर्ति व्यवस्था स्थिर हुने तथा विद्युत् व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।




