बीरगन्ज,०१ जेठ । बीरगन्जमा बजार अनुगमन अभियान निरन्तर जारी रहँदा अस्पताल परिसरभित्र सञ्चालित क्यान्टिन र होटलहरूलाई जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा शुक्रबार गरिएको संयुक्त अनुगमनका क्रममा बीरगन्ज महानगरपालिका–१३ स्थित तराई हस्पिटलभित्र सञ्चालनमा रहेको क्यान्टिनलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
अनुगमन टोलीका अनुसार उक्त क्यान्टिन दर्ता बिना सञ्चालनमा रहेको, सरसफाइ कमजोर रहेको तथा कामदारहरूले आवश्यक स्वच्छता मापदण्ड पालना नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।
त्यसैगरी सोही क्षेत्रमा रहेको ज्योती मगर होटललाई २० हजार रुपैयाँ तथा उर्मिला महतोद्वारा सञ्चालित होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । बुद्ध होटललाई भने आवश्यक विवरणसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, बीरगन्ज उद्योग वाणिज्य संघ तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रशासनले बजार अनुगमनलाई थप कडाइका साथ निरन्तरता दिने जनाएको छ ।



