काठमाडौं,०१ जेठ । काठमाडौंको कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले निर्धारण गरेको तलब संरचना कार्यान्वयन गर्न माग गर्दै आन्दोलन गरेका छन् ।
नर्सहरूले शुक्रबार बिहानदेखि अस्पताल परिसरमै प्रदर्शन सुरु गर्दै आफूहरूलाई सरकारले तोकेको न्यूनतम तलब नदिइएको भन्दै विरोध जनाएका हुन् । उनीहरूका अनुसार हाल उनीहरूले मासिक करिब १९ हजार रुपैयाँ मात्र पाउँदै आएका छन्, जबकि सरकारी मापदण्डअनुसार स्टाफ नर्सको तलब ३४ हजार रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
सरकारी तलब लागू गर्न पटक–पटक आग्रह गर्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको आन्दोलनरत पक्षको भनाइ छ । हेल्थ असिस्टेन्ट भुपेन्द्र खत्रीका अनुसार अस्पतालमा कार्यरत करिब ४० जना कर्मचारी आन्दोलनमा सहभागी छन् ।
नर्सहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।



