बीरगन्ज,०१ जेठ । बीरगन्ज र बारा यातायात व्यवस्था कार्यालयमा लाइसेन्स वितरण प्रक्रियामा पुनः अनियमितता र ‘फर्जी लाइसेन्स’ सम्बन्धी चलखेल बढेको भन्दै सेवाग्राहीहरूले गम्भीर आरोप लगाएका छन् ।
यसअघि कडाइका साथ सञ्चालन गरिएको लिखित तथा ट्रायल परीक्षा प्रणाली फेरि कमजोर बनेको र भित्रभित्रै पुरानै ‘सेटिङ सिस्टम’ सक्रिय भएको आरोप सेवाग्राहीहरूको छ ।
स्थानीयका अनुसार अहिले लिखित र ट्रायल परीक्षा औपचारिकतामा सीमित हुँदै गएको छ । सीमित संख्यामा पटक–पटक परीक्षा सञ्चालन गरेर निश्चित व्यक्तिहरूलाई पास गराउने अभ्यास भइरहेको दाबी गरिएको छ । एक दिन लिखित र अर्को दिन ट्रायल परीक्षा गराई बिचौलियामार्फत काम मिलाइने गरेको आरोपसमेत उठाइएको छ ।
सेवाग्राहीहरूले वीरगञ्ज कार्यालयभित्र केही कर्मचारी र बिचौलियाबीच मिलेमतो रहेको दाबी गर्दै चार वटा मोटरसाइकल लाइसेन्स बनाउन ट्रायल प्रमुख रामसुन्दर महतो निकट व्यक्तिहरूमार्फत प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन् ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीपछि अनियमितता केही समय रोकिएको भए पनि हाल निगरानी कमजोर हुँदा पुनः अनियमितता मौलाएको उनीहरूको भनाइ छ ।
यस्तै, बीरगन्ज कार्यालय प्रमुख कुशेश्वर साहमाथि पनि बिचौलियामार्फत फर्म भर्ने, लिखित परीक्षा पास गराउने तथा ट्रायलमा असफल भएकाहरूलाई भिडियो एडिट गरेर पास देखाउनेजस्ता गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ ।
उता बारा यातायात व्यवस्था कार्यालयमा पर्याप्त सीसीटीभी निगरानी नहुँदा ट्र्याक्टर चालक लाइसेन्स वितरणमा समेत अनियमितता भइरहेको स्थानीयको दाबी छ । कार्यालय प्रमुख चिन्तन आचार्यमाथि पनि बिचौलिया प्रयोग गरी प्रक्रिया प्रभावित पारिएको आरोप सेवाग्राहीहरूले लगाएका छन् ।
स्थानीयले दुवै कार्यालयमा लाइसेन्स परीक्षण प्रणालीलाई पूर्ण रूपमा डिजिटल, लाइभ निगरानीयुक्त र पारदर्शी बनाउन माग गरेका छन् । उनीहरूका अनुसार यस्तो व्यवस्था लागू भए मात्र लाइसेन्स वितरण प्रणाली निष्पक्ष र विश्वसनीय बन्न सक्छ ।



