सप्तरी,०१ जेेठ । ट्राफिक व्यवस्थापन कमजोर हुँदा सप्तरीका मुख्य सडक तथा बजार क्षेत्रमा जथाभावी सवारी पार्किङ गर्ने प्रवृत्ति बढ्दै गएको छ। सडक किनार र राजमार्गमै सवारी साधन पार्किङ हुन थालेपछि यातायात व्यवस्थापन अस्तव्यस्त बन्दै गएको स्थानीयवासीले बताएका छन्।
हुलाकी राजमार्गअन्तर्गत राजविराजदेखि बलान नदीसम्मको करिब ४५ किलोमिटर सडक खण्डमा पर्ने अधिकांश बजार क्षेत्रमा सडकमै गाडी पार्किङ गरिने गरेको छ। स्थानीयका अनुसार कतिपय स्थानमा सडकको दायाँ–बायाँ सवारी राखिने हुँदा पैदल यात्रुलाई समेत आवतजावतमा समस्या हुने गरेको छ।
सदरमुकाम राजविराजमा ट्राफिक व्यवस्थापनको अवस्था अझ जटिल देखिएको छ। निर्माण सम्पन्न भएर उद्घाटनसमेत भइसकेको बसपार्क सञ्चालनमा नआउँदा सार्वजनिक तथा निजी सवारीहरू सडकमै पार्किङ भइरहेका छन्।
राजविराज नगरपालिका–२ मा १५ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण गरिएको बसपार्क २०८२ जेठ १५ गते उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। तर, हालसम्म सञ्चालनमा नआउँदा बजार क्षेत्रको अव्यवस्थित पार्किङ समस्या झन् बढेको स्थानीयको भनाइ छ।
स्थानीय व्यवसायी दिनेश यादवले अव्यवस्थित पार्किङ र तीव्र गतिमा चल्ने मोटरसाइकलका कारण जुनसुकै बेला दुर्घटना हुन सक्ने अवस्था रहेको बताएका छन्। उनले ट्राफिक व्यवस्थापनमा नगरपालिका र सम्बन्धित निकाय गम्भीर नदेखिएको आरोप लगाए।
हुलाकी सडक खण्डअन्तर्गत खुरुहरीया, मलेकपुर, पथरगडा, अर्नाहा, बनौली, बोदेबरसाइन, कुसमहार र चन्ही लगायत बजार क्षेत्रमा दैनिक रूपमा सडकमै सवारी पार्किङ हुने गरेको छ।
स्थानीयवासीका अनुसार सडक अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रणका लागि स्थानीय तह, ट्राफिक प्रहरी, जिल्ला प्रशासन तथा सडक डिभिजन कार्यालय कुनै पनि निकाय प्रभावकारी रूपमा सक्रिय देखिएका छैनन्।



