काठमाडौं,०१ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिने कार्यक्रम स्थगित गर्दै जेठ ८ गतेका लागि नयाँ मिति तय गर्न सभामुखसमक्ष आग्रह गरेका छन्। सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले स्पष्ट निर्णय नदिएपछि विश्वासको मत प्रक्रिया पछाडि सारिएको हो।
जनमत पार्टीले वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, जसपा नेपालभित्र विश्वासको मत दिने वा नदिने विषयमा एकमत हुन नसक्दा कार्यक्रम प्रभावित भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार जसपा नेपालका केही सांसद सरकारको पक्षमा उभिनुपर्ने मतमा छन् भने केही विपक्षमा देखिएका छन्। यही आन्तरिक विवादका कारण मुख्यमन्त्री यादवले सभामुख रामअशिष यादवलाई कार्यक्रम सार्न पत्र पठाएका हुन्।
जसपा नेपालका एक नेताले पार्टी बैठक जारी रहेको र अझै औपचारिक निर्णय नभएको बताएका छन्। उनका अनुसार विश्वासको मत कार्यक्रम सारिनुमा जसपा मात्र नभई कांग्रेसभित्रको सम्भावित ‘फ्लोर क्रस’ को संकेत पनि कारण बनेको छ।
ती नेताले कांग्रेसका केही सांसदले फरक धारणा लिन सक्ने सूचना पाएपछि सत्ता पक्ष थप सतर्क बनेको बताएका छन्।
यता, जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिए पनि उसका दुई मन्त्री महेश यादव र बसन्त कुशवाहा अझै सरकारमै रहेका छन्। साथै, जनमत संसदीय दलका नेता चन्दन सिंहले आफ्ना सांसदलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन्।
मधेश प्रदेशको सत्ता समीकरण जटिल बन्दै जाँदा आगामी दिनमा राजनीतिक ध्रुवीकरण अझ बढ्ने संकेत देखिएको छ।



