spot_img

असार १ देखि कक्षा ११ भर्ना अभियान सुरु हुने

spot_img
spot_img

काठमाडौं,०१ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै सरकारले आगामी असार १ गतेदेखि कक्षा ११ को भर्ना अभियान सुरु गर्ने तयारी गरेको छ। यस वर्ष बोर्डले समयमै नतिजा प्रकाशन गरेपछि भर्ना प्रक्रिया पनि छिट्टै अघि बढ्ने भएको हो।

कतिपय विद्यालयले एसईई नतिजा प्रकाशित भएको भोलिपल्टैदेखि अनलाइन तथा भौतिक माध्यमबाट आवेदन लिन सुरु गरिसकेका छन्। काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला गरिसकेको छ।

यद्यपि, धेरै विद्यालयमा अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा अझै जारी रहेकाले एउटै विद्यालयमा पुराना र नयाँ दुवै ब्याच व्यवस्थापन गर्नुपर्ने अवस्था बनेको छ। यसले विद्यार्थी र अभिभावकमा केही अन्योल देखिएको छ।

तर, शिक्षा क्षेत्रका सरोकारवालाले यसपटक भर्ना र पठनपाठन प्रक्रियामा विगतजस्तो अव्यवस्था नहुने दाबी गरेका छन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का पूर्व महासचिव लोकबहादुर भण्डारीले समयमै परीक्षा र नतिजा सार्वजनिक भएकाले शैक्षिक व्यवस्थापन सहज हुने बताएका छन्। उनका अनुसार यस वर्ष कक्षा ११ को पढाइ ढिलो सुरु हुने समस्या दोहोरिने छैन।

त्यस्तै, निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) का अध्यक्ष कृष्ण अधिकारीले असारको पहिलो सातादेखि नै कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। विद्यालयहरूले भर्ना र कक्षा सञ्चालनलाई व्यवस्थित बनाउन तयारी गरिरहेको उनले बताए।

शिक्षा मन्त्रालयले पनि भर्ना अभियान सम्बन्धी आन्तरिक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मन्त्रालयका अनुसार शैक्षिक सत्र ढिलाइ हुन नदिन र विद्यार्थीको अध्ययन प्रक्रिया समयमै सुरु गराउन असार १ गतेदेखि भर्ना खुला गर्ने तयारी गरिएको हो।

विद्यालय शिक्षा महाशाखाका सहसचिव रूद्रप्रसाद अधिकारीले केही दिनभित्रै यसबारे औपचारिक निर्णय सार्वजनिक गरिने बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय