बारा,०१ जेठ । जीतपुरसिमरा उपमहानगरपालिकाको फुटपाथ तथा सडक अतिक्रमण हटाउने अभियानका क्रममा नगर प्रहरी र स्थानीय साना व्यवसायीबीच झडप हुँदा जीतपुर बजार बिहीबार दिनभर तनावग्रस्त बनेको छ।
उपमहानगरपालिका–७ स्थित बजार क्षेत्रमा सडक मिचेर राखिएका ठेला तथा पसल हटाउने क्रममा विवाद सुरु भएको थियो। फुटपाथमा मकै, फलफूललगायत सामग्री बिक्री गर्दै आएका व्यवसायीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्था बिना हटाउन खोजिएको भन्दै विरोध जनाएपछि स्थिति चर्किएको हो।
प्रत्यक्षदर्शीका अनुसार विवाद बढ्दै जाँदा एक व्यवसायीले मकै पोल्न प्रयोग भइरहेको आगो नगर प्रहरीतर्फ प्रहार गरेपछि अवस्था थप तनावपूर्ण बनेको थियो।
त्यसपछि आक्रोशित व्यवसायी र स्थानीयको समूहले रड तथा घरेलु हतियारसहित उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका थिए। अवस्था नियन्त्रण बाहिर जान थालेपछि इलाका प्रहरी कार्यालय जीतपुरबाट नेपाल प्रहरी परिचालन गरिएको थियो।
नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त प्रयासपछि केही घण्टापछि स्थिति नियन्त्रणमा आएको बताइएको छ। हाल बजार क्षेत्रमा अवस्था सामान्य हुँदै गएको स्थानीयले बताएका छन्।
तर सुरक्षाकर्मी फर्किएपछि केही व्यवसायी पुनः आफ्नै स्थानमा फर्केर व्यापार गर्न थालेका छन्, जसले उपमहानगरपालिकाको ‘क्लिन सिटी’ अभियानको कार्यान्वयनबारे प्रश्न उठाएको छ।
उपमहानगरपालिकाले भने बजार व्यवस्थापन र सडक अतिक्रमण हटाउने अभियान निरन्तर रहने स्पष्ट पारेको छ। साथै, सरकारी काममा अवरोध गर्ने तथा सुरक्षाकर्मीमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई पहिचान गरी कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।



