spot_img

सार्वजनिक बिदा र निर्माण सुस्तताले घट्यो पेट्रोलियम माग

spot_img
spot_img

विराटनगर,०१ जेठ । नेपालमा चैतको तुलनामा वैशाख महिनामा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाएको छ। डिजेल, पेट्रोल, मट्टितेल र एलपी ग्यासको खपत घट्दा हवाई इन्धनको माग भने बढेको छ।

पश्चिम एसियामा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि सरकारले खपत नियन्त्रणका लागि सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको थियो। निर्माण क्षेत्रको सुस्तता र आर्थिक गतिविधिमा आएको गिरावटले पनि इन्धन खपतमा असर पारेको बताइएको छ।

आयल निगमको तथ्याङ्कअनुसार सबैभन्दा ठूलो गिरावट डिजेलको खपतमा देखिएको छ। चैत महिनामा १ लाख ४० हजार २९ किलोलिटर डिजेल खपत भएकोमा वैशाखमा घटेर १ लाख २ हजार ७१ किलोलिटरमा झरेको छ।

पेट्रोलको खपत पनि घटेको छ। चैतमा ५९ हजार ९३८ किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा ५८ हजार ६८० किलोलिटरमा सीमित भएको छ। मट्टितेलको खपतमा भने तीव्र गिरावट देखिएको छ। चैतमा १ हजार २८३ किलोलिटर खपत भएकोमा वैशाखमा २४८ किलोलिटरमा झरेको छ।

त्यस्तै, एलपी ग्यासको खपत पनि घट्दै ३८ हजार ७९९ मेट्रिक टनबाट ३२ हजार ५६ मेट्रिक टनमा सीमित भएको छ। तर हवाई इन्धनको खपत भने बढेको छ। चैतमा १८ हजार २४४ किलोलिटर खपत भएकोमा वैशाखमा १९ हजार ५५२ किलोलिटर पुगेको आयल निगमले जनाएको छ।

निगमका अनुसार चैत २२ पछि लागू भएको सार्वजनिक बिदा र निर्माण गतिविधिमा आएको सुस्तताले इन्धन खपतमा उल्लेख्य असर पारेको छ। निर्माण सामग्रीको मूल्यवृद्धि र काम ठप्प हुँदा डिजेलको माग घटेको निर्माण व्यवसायीहरूको भनाइ छ।

आयल निगमले भने खपत घट्नुको कारण सार्वजनिक बिदा मात्र नभई निर्माण, उद्योग र ढुवानी क्षेत्रको गतिविधिमा आएको कमी पनि प्रमुख कारण रहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय