वीरगञ्ज, १ जेठ — पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप यादव ले वीरगञ्जको मुख्य सडक आवश्यकता र औचित्यको अधारमा फराकिलो बनाइनु पर्नेमा जोड दिएका छन्।
वीरगञ्जमा आयोजित पत्रकार भेटघाटमा उनले अदालतको निर्णय कार्यान्वयन गर्ने क्रममा सरकारले हुकुमी शैली अपनाउँदै घर तथा पसलहरू खाली गराएको टिप्पणी गरे। यसरी एक्कासी खाली गराउँदा स्थानीय व्यवसायी तथा जग्गाधनीहरूले लाखौँ रुपैयाँको क्षति व्यहोर्नु परेको उनले बताए।
उनले भने, “अदालतको निर्णय भएकाले त्यसमा प्रत्यक्ष टिप्पणी गर्ने आधार नभए पनि कार्यान्वयन प्रक्रिया व्यावहारिक र मानवीय हुनुपर्छ।” उनले सम्बन्धित मन्त्री स्वयंले स्थलगत अनुगमन गरी कति मिटर सडक विस्तार उपयुक्त हुन्छ भन्ने विषयमा पुनः मूल्याङ्कन गर्नुपर्ने र आवश्यक परे वैकल्पिक उपाय खोज्नुपर्ने सुझाव दिए।
विकासका विषयमा सबैको सहमति रहे पनि जनप्रतिनिधिहरूको मौनता देख्दा आफू दुःखी भएको उनले उल्लेख गरे।
तराई–सीमा क्षेत्रमा लाग्ने भन्सार शुल्कसम्बन्धी विवादबारे उनले हालको कानुन समयअनुकूल नभइसकेको भन्दै परिमार्जन आवश्यक रहेको बताए। नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध निकै गहिरो रहेको उल्लेख गर्दै उनले “रोटी–बेटीको सम्बन्ध” लाई कुनै पनि सरकारले कमजोर बनाउन नसक्ने स्पष्ट पारे।
यसै क्रममा वीरगञ्जस्थित हरिखेतान कलेजमा भएको घटनालाई उनले दुःखद बताए। दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै उनले विद्यार्थी भर्नाका क्रममा सामुदायिक कलेजमा विवाद सिर्जना गरी निजी कलेजलाई फाइदा पुर्याउने प्रयास भएको हुन सक्ने आशंका व्यक्त गरे।
उक्त घटनाको योजनाकारसम्म पुगेर छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई गम्भीर बन्न आग्रह गरे। मधेशमा सरकार परिवर्तनको हल्ला चलेको बिषयमा पूर्वमन्त्री यादवले अन्तिम किस्ता उठान सरकार परिवर्तनको खेल भएको टिप्पणी गरे ।



