काठमाडौं,०१ जेठ । देशका विभिन्न सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि तथा स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोगविहीन अवस्थामा पुगेको पाइएको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा करिब ९ करोड १७ लाख रुपैयाँ बराबरका औषधि र स्वास्थ्य सामग्रीको म्याद समाप्त भइसकेको छ ।
प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका संस्थाहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर कमजोरी देखिएको हो ।
स्वास्थ्य सेवा विभागमा मात्रै २८ प्रकारका औषधि, जसको मूल्य करिब ४ करोड ७२ लाख रुपैयाँ बराबर छ, म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् । त्यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार रुपैयाँ, वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरका औषधि नष्ट हुने अवस्थामा पुगेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब १ करोड १९ लाख रुपैयाँ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ करोडभन्दा बढी मूल्यका औषधि म्याद समाप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
सम्झौताअनुसार म्याद नाघेका वा बिक्री हुन नसकेका औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन नहुँदा राज्यको ठूलो लगानी खेर गएको महालेखाले औंल्याएको छ । महालेखाले औषधि खरिद, भण्डारण र वितरण प्रणालीलाई प्रभावकारी बनाउन तत्काल सुधार आवश्यक रहेको सुझावसमेत दिएको छ ।



