बीरगन्ज,०३ जेठ । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बीरगन्ज महानगरपालिका र ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा घण्टाघर परिसर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ।
सङ्घीय सरकारको अनुरोधअनुसार देशभर सञ्चालन भइरहेको सप्ताहव्यापी सरसफाइ अभियानअन्तर्गत बीरगन्जमा पनि नियमित सरसफाइ कार्यक्रमलाई तीव्र बनाइएको हो।
ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बीरगन्जलाई स्वच्छ र हराभरा बनाउन संस्था निरन्तर सक्रिय रहेको बताए। उनका अनुसार सरसफाइ केवल विशेष दिनमा मात्र नभई वर्षभरि नै सरसफाइ र वृक्षरोपण अभियान सञ्चालन हुँदै आएको छ।
“सरकारले राष्ट्रिय सरसफाइ सप्ताह मनाउन आग्रह गरेपछि हामीले यसलाई अझ व्यवस्थित रूपमा अघि बढाएका छौँ,” उनले भने।
त्यस्तै, बीरगन्ज महानगरको फोहोरमैला व्यवस्थापनको जिम्मा लिएको एनके इन्टरनेसनल इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले दैनिक रूपमा तीन पटकभन्दा बढी सरसफाइकर्मी परिचालन गरेर शहर सफाइको काम भइरहेको जानकारी दिए। उनका अनुसार पछिल्लो एक दशकको तुलनामा बीरगन्जको सरसफाइ अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ।
बीरगन्जको ऐतिहासिक घण्टाघर सन् १९७९ फेब्रुअरी ७ मा स्थापना गरिएको हो। स्थानीय बासिन्दाका अनुसार जापानको योनागो सहरका विद्यार्थीहरूले एक दिनको खाजा खर्च कटौती गरेर घण्टाघर निर्माण र घडी जडानका लागि सहयोग गरेका थिए।



