spot_img

आत्मालोचना बिना एमाले बलियो बन्न नसक्ने विष्णु पौडेलको भनाइ

spot_img
spot_img

काठमाडौं,०३ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा स्थापित गर्न आत्मालोचना र सुधारको आवश्यकता रहेको बताएका छन्।

तेत्तिसौँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा भएका गल्ती र कमजोरीहरू खुला रूपमा स्वीकार गर्दै जनतासामु आत्मालोचक भएर प्रस्तुत हुन पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरे।

उपाध्यक्ष पौडेलले जननेता मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्तलाई व्यवहारमा सही ढंगले लागू गर्न नसक्दा जनविश्वास कमजोर भएको संकेत गरे। उनले गुमेको भरोसा पुनः प्राप्त गर्न एमालेका हरेक तहका नेता–कार्यकर्ता जिम्मेवार बन्नुपर्ने बताए।

“पार्टीलाई फेरि नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न दृढ संकल्प, आत्मसमीक्षा र जनतासँगको सम्बन्ध सुदृढ बनाउनु आवश्यक छ,” उनले भने।

पौडेलले नेपाली कम्युनिष्ट आन्दोलन अहिले कठिन र रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै यस अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे। उनले राष्ट्रिय राजनीति सञ्चालन र पार्टीको आन्तरिक जीवन व्यवस्थापनमा जबजको मूल मर्मअनुसार काम गर्न सकियो वा सकिएन भन्ने विषयमा वस्तुनिष्ठ मूल्याङ्कन गर्न ढिला भइसकेको उल्लेख गरे।

उनले पार्टीभित्रको आन्तरिक प्रणाली, नेतृत्व शैली र राजनीतिक कार्यदिशाबारे समयमै समीक्षा नगरे आगामी दिनमा थप चुनौतीहरू आउन सक्ने चेतावनी पनि दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय