बीरगन्ज,०६ जेठ । सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक सबै उपाय अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले सरकार यस विषयमा गम्भीर र प्रतिबद्ध रहेको बताएका हुन्।
एपीजीका प्रतिनिधिसँगको छलफलमा मन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टको अवस्थाबाट मुक्त गर्न सरकारले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्ने स्पष्ट पारे। उनले वर्तमान सरकारले सुशासन र विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै जनताले पनि त्यसको प्रभाव अनुभूति गर्न थालेको दाबी गरे।
उनका अनुसार ग्रे लिस्टबाट बाहिरिन आवश्यक सुधारका कामहरू सम्बन्धित निकायहरूले तीव्र रूपमा अघि बढाइरहेका छन्। अघिल्लो समीक्षाको तुलनामा नेपालका विभिन्न सूचकमा सुधार आएको पनि उनले बताए।
छलफलमा सहभागी एपीजीका उपकार्यकारी सचिव डेभिड स्यान्नन ले भने नेपालले अझै धेरै ठोस सुधारका काम गर्न बाँकी रहेको टिप्पणी गरेका छन्। वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले गत फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो। त्यसपछि नेपालले १५ बुँदे सुधार कार्ययोजना लागू गर्दै वित्तीय पारदर्शिता, सम्पत्ति शुद्धीकरण नियन्त्रण र सुशासन सुधारका क्षेत्रमा काम गरिरहेको जनाएको छ।



