काठमाडौं,०६ जेठ । सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने वा नियन्त्रण गर्ने कुनै मनसाय नराखेको स्पष्ट पार्दै पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले सरकारले त्यसविरुद्ध जान नसक्ने बताए।
मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभई जिम्मेवारीसहितको अभ्यास हुनुपर्नेमा जोड दिँदै पत्रकारहरूलाई आफ्नो गरिमा र सीमाभित्र रहेर काम गर्न आग्रह गरे। उनका अनुसार सरकारले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गर्ने, मिडिया क्षेत्रलाई स्वच्छ र जवाफदेही बनाउने तथा यसका लागि आवश्यक कार्यक्रम अघि बढाउने तयारी गरेको छ।
त्यस्तै चलचित्र, संगीत र कला क्षेत्रको प्रवर्द्धनका लागि सहुलियत र प्रोत्साहनका कार्यक्रम ल्याइने पनि उनले बताए। संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूका लागि आवश्यक व्यवस्थापन सुधार भइरहेको उल्लेख गर्दै उनले डिजिटल कामलाई सहज बनाउन एकीकृत सूचना प्रणाली विकास गर्ने योजना रहेको जानकारी दिए।
मन्त्री तिमिल्सिनाले सूचना प्रविधि क्षेत्रमा सरकार सक्रिय रूपमा काम गरिरहेको भन्दै आगामी एक वर्षभित्र देशभर स्तरीय मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए। दुर्गम क्षेत्रसम्म फोरजी सेवा विस्तार, डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन, इन्टरनेट अवरोध न्यूनीकरण तथा “टेक हब” विकास गर्ने योजनासमेत सरकारले अघि बढाइरहेको उनको भनाइ छ।



