spot_img

ट्राफिक नियम उल्लंघनमा कडाइ, उपत्यकामा १९ लाख राजस्व संकलन

spot_img
spot_img

काठमाडौँ,०९ जेठ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा गरेको सवारी जाँचका क्रममा १ हजार ९२२ जना सवारी चालक कारबाहीमा परेका छन्। कारबाहीबाट कुल १९ लाख ७० हजार २ रुपैयाँ राजस्व संकलन भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार मापसे, ट्राफिक नियम उल्लंघन तथा अन्य विभिन्न कसुरमा चालकहरूलाई कारबाही गरिएको हो।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ११८ जना, राइड सेयरिङ नियम उल्लंघन गर्ने १९८ जना, रातो बत्ती उल्लंघन गर्ने १२६ जना, तीव्र गतिमा सवारी चलाउने १३१ जना, लेन क्रस गर्ने ७३ जना, फुटपाथमा सवारी चलाउने ९० जना, हर्न निषेध उल्लंघन गर्ने ९५ जना र एकतर्फी बाटो उल्लंघन गर्ने १०५ जना रहेका छन्। बाँकी ९८६ जनालाई अन्य विभिन्न कसुरमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले मापसे वा लागू पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत भएको भन्दै त्यस्तो शंका लागेमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ। त्यसका लागि ट्राफिक कन्ट्रोल रूमको हटलाइन १०३ वा प्रहरी हटलाइन १०० मा सम्पर्क गर्न सकिने बताइएको छ।

यसैबीच, उपत्यकाको थली क्षेत्रमा गरिएको विशेष ‘लागुऔषध सेवन (लापसे)’ चेकिङका क्रममा पाँच जना चालक नियन्त्रणमा लिइएका छन्।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले गरेको परीक्षणमा लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा परेकामा दुई जना बस चालक, एक मिनीट्रक चालक, एक लाइट गाडी चालक र एक हात्ती भ्यान चालक रहेका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षा सुनिश्चित गर्न यस्ता अभियानलाई अझ कडाइका साथ निरन्तरता दिइने जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय