काठमाडौं,०९ जेठ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट ससम्मान बिदा लिन आह्वान गरेकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमाले कमजोर अवस्थामा पुगेको भन्दै नेतृत्व पुस्तान्तरणको आवश्यकता औँल्याएकी हुन्।
शाक्यले ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेको उल्लेख गर्दै अब युवा पुस्तालाई अवसर दिँदै नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छन्। उनका अनुसार पार्टीलाई पुनर्जीवित गर्न सामूहिक नेतृत्व र नयाँ सोच आवश्यक छ।
उनले लेखेकी छन्, “सास रहुन्जेल एमालेको अध्यक्ष भइराख्ने सोच गलत हो,” भन्दै ओलीको नेतृत्व शैलीप्रति कडा आलोचना गरेकी छन्। साथै, उनले पार्टीलाई कुनै व्यक्तिको निजी सम्पत्ति वा गुटको कम्पनीझैँ नठान्न चेतावनीसमेत दिएकी छन्।
शाक्यले एमाले लाखौँ कार्यकर्ताको त्याग र बलिदानबाट बनेको पार्टी भएकाले यसलाई विचार, सामूहिकता, संघर्ष र इमानका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।
उनका अनुसार हालको नेतृत्वले कार्यकर्ताको भावना बुझ्न नसकेको भन्दै पार्टीलाई “अन्धकारतर्फ जानबाट रोक्न” नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको छ।



