काठमाडौँ,०९ जेठ । काठमाडौँ उपत्यकाबाट सञ्चालन हुने लामो दूरीका सार्वजनिक बसमा अब यात्रुको सामान सुरक्षित राख्न ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ। यात्रुको झोला हराउने, साटिने तथा चोरी हुने समस्या नियन्त्रण गर्न यो नयाँ व्यवस्था लागू गर्न लागिएको हो।
यसका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घ बीच शुक्रबार औपचारिक सम्झौता भएको छ। सम्झौतामा ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी र महासङ्घका अध्यक्ष सरोज सिटौलाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका बसमा यात्रा गर्ने यात्रुको लगेजमा विशेष नम्बरयुक्त ट्याग लगाइनेछ। बसमा राखिएको सामानको नम्बर र यात्रुसँग रहेको ट्याग नम्बर मिलाएपछि मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय सार्वजनिक बसमा झोला हराउने, चोरी हुने तथा अवैध वस्तु ओसारपसारजस्ता गतिविधि बढ्दै गएको गुनासो आउने गरेको थियो। नयाँ प्रणालीले यस्ता गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर यो अभ्यास सुरु गरिएको बताउँदै प्रारम्भिक चरणमा लामो दूरीका सवारी साधनबाट अभियान सुरु गरिने जानकारी दिनुभयो।
त्यस्तै महासङ्घका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा प्रयोग हुँदै आएको व्यवस्थापन प्रणाली अब सार्वजनिक बस सेवामा पनि लागू गर्न लागिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार यसले यात्रुको सामान गलत व्यक्तिले लैजाने, साटिने वा हराउने समस्या हटाउन मद्दत गर्नेछ।
यातायात व्यवसायीहरूले विशेषगरी चाडपर्व, भीडभाड र रात्रीकालीन यात्रामा सामान हराउने गुनासो धेरै आउने गरेको बताएका छन्। सुरक्षा निकायले पनि सार्वजनिक सवारी साधनमार्फत अवैध वस्तु ओसारपसार हुने जोखिमबारे लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएका थिए।
नयाँ व्यवस्थाअन्तर्गत बस काउन्टरमै यात्रुको लगेजमा नम्बर वा कोडसहितको ट्याग लगाइनेछ भने सोही नम्बर यात्रुलाई पनि उपलब्ध गराइनेछ। भविष्यमा क्युआर कोड तथा डिजिटल रेकर्ड प्रणालीसमेत जोड्ने तयारी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।
यसैबीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३” पनि सुरु गरेको जनाएको छ। वर्षायाममा हुन सक्ने दुर्घटना, पहिरो, डुबान तथा सडक अवरोधलाई ध्यानमा राख्दै सवारी परीक्षण, चालक स्वास्थ्य जाँच र यात्रु सचेतना कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
नयाँ लगेज ट्याग प्रणाली प्रभावकारी रूपमा लागू भए सार्वजनिक यातायात सेवा थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बन्ने अपेक्षा गरिएको छ।



