जनकपुर,०९ जेठ । सप्तरीमा बेवारिसे अवस्थामा फेला परेकी एक महिलालाई उपचार र संरक्षणपछि परिवारको जिम्मा लगाइएको छ। भारतको बिहार राज्य दरभंगा घर भएकी ३५ वर्षीया साहानी खातुनलाई डेढ महिनापछि उनकी दिदी फरिदा खातुनको जिम्मा लगाइएको हो।
राजविराज नगरपालिका–१ क्षेत्रमा चैत २४ गते बेवारिसे अवस्थामा फेला परेपछि उनलाई गजेन्द्रनारायण अस्पतालस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC) को संरक्षणमा राखिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा उनलाई अग्निसाइर कृष्णासवरन गाउँपालिकाको सेफ हाउसमा सारिएको थियो।
प्रारम्भिक अवस्थामा शारीरिक तथा मानसिक रूपमा कमजोर देखिएकी खातुनलाई थप उपचारका लागि काठमाडौँस्थित कोसिस संस्थाको सहयोगमा राजधानी लगिएको थियो। त्यहाँ १५ दिन उपचार गरिएपछि करिब एक महिना संरक्षणमा राखिएको बताइएको छ।
उपचारपछि स्वास्थ्यमा सुधार आएपछि परिवार खोजी अभियान सुरु गरिएको थियो। काठमाडौँबाट सप्तरी ल्याउने क्रममा मिर्चैयामा पुगेपछि खातुनले आफ्नी दिदी सिरहाको नरहा गाउँपालिका क्षेत्रमा बस्ने जानकारी दिएकी थिइन्। त्यसपछि प्रहरी र सम्बन्धित निकायले खोजी गरी उनकी दिदीलाई सम्पर्कमा ल्याएका थिए।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविण, ओसीएमसीका प्रतिनिधि, प्रहरी, पत्रकार तथा मानसिक स्वास्थ्यकर्मीहरूको उपस्थितिमा खातुनलाई औपचारिक रूपमा परिवारको जिम्मा लगाइएको हो।
खातुनका चार जना छोराछोरी रहेका छन्। उनले श्रीमानले दोस्रो विवाह गरेपछि आफूले कुटपिट र मानसिक यातना सहनुपरेको बताएकी छन्। अत्यधिक तनावका कारण घर छाडेको र कसरी सप्तरीसम्म आइपुगिन् भन्ने कुरा आफूलाई सम्झना नभएको उनले जनाएकी छन्।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (OCMC) ले हिंसापीडित तथा समस्यामा परेका व्यक्तिहरूलाई उपचार, परामर्श र संरक्षण सेवा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ।



