काठमाडौँ,०९ जेठ । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा साक्षरता नभएका सेवाग्राहीलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई विशेष सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्ता सेवाग्राहीका लागि विशेष काउन्टरमार्फत सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको हो।
निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एक बैंक शाखा अपांगमैत्री बनाउनुपर्नेछ। त्यस्ता शाखाको विवरण बैंकहरूले आफ्नो वेबसाइटमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। त्यसैगरी एटीएम सेवा उपलब्ध भएका स्थानमा ब्रेल लिपि संकेत तथा ध्वनि सहयोगसहित कम्तीमा एक अपांगमैत्री एटीएम राख्नुपर्ने व्यवस्था गरिएको छ। यस्ता सुविधाबारे पनि वेबसाइटमा विवरण राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम सेवामा व्यक्तिले स्वघोषणा गरी प्रयोग गर्न सक्ने गरी प्रणाली सहज बनाउन पनि निर्देशन दिइएको छ। साथै दृष्टिविहीनमैत्री हुने गरी बैंकका डिजिटल सेवा र मोबाइल एपहरू विकास गर्नुपर्ने उल्लेख छ।
क्रेडिट तथा डेबिट कार्डमा समेत दृष्टिविहीनमैत्री प्रविधि समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले अतिरिक्त समयमा काम गराउने अवस्थामा प्रचलित कानुनअनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई बाध्य पारेर काम गराउन नपाइने स्पष्ट निर्देशन पनि दिएको छ।



