काठमाडौँ,१८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) पाँच दिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक भारत प्रस्थान गर्दै छन् । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको औपचारिक निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारतको भ्रमण गर्न लागेका हुन् ।
रास्वपा केन्द्रीय कार्यालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछाने नेतृत्वको उच्चस्तरीय टोलीको भारत भ्रमणबारे औपचारिक पुष्टि गरेको हो । भ्रमणका क्रममा लामिछानेले भारतको राजधानी नयाँ दिल्लीमा राजनीतिक तथा कूटनीतिक वृत्तका उच्च व्यक्तित्वहरूसँग महत्त्वपूर्ण भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । उनले भाजपाका शीर्ष नेतृत्वसँग दुई पक्षीय आपसी हित र दलगत सम्बन्धका विषयमा समेत गहन छलफल गर्ने विज्ञप्तिमा उल्लेख छ ।
राजनीतिक भेटघाटबाहेक सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय, बुद्धिजीवी तथा रास्वपाका प्रवासी शुभेच्छुकहरूसँग विशेष अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरिएको छ । नयाँ दिल्लीको राजनीतिक व्यस्ततापछि उनले धार्मिक एवं सांस्कृतिक पर्यटकीय सहर अयोध्याको समेत भ्रमण गर्ने जनाइएको छ ।
पाँच दिनसम्म चल्ने यस भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, केन्द्रीय सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका छन् ।
रास्वपाका प्रवक्ता मनीष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेको यो भ्रमण र उच्चस्तरीय भेटवार्ताहरूलाई व्यवस्थित एवं फलदायी बनाउन आवश्यक कूटनीतिक समन्वय गरिरहेको छ । पछिल्लो समय संसद् र सडकमा आक्रामक राजनीति गरिरहेको रास्वपाका प्रमुखको यो भारत भ्रमण र भाजपा नेतृत्वसँगको संवादलाई भू-राजनीतिक एवं कूटनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।




