वीरगन्ज,१८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वीरगन्ज महानगर समितिको सभापतिमा दीपराज पटेल निर्वाचित भएका छन्। आइतबार सम्पन्न प्रथम महानगर अधिवेशनबाट उनी सभापतिमा चयन भएका हुन्।
सभापतिका लागि भएको प्रतिस्पर्धामा पटेलले निकटतम प्रतिस्पर्धी महमद महुदीन आलमलाई ४७ मतान्तरले पराजित गरे। पटेलले २२६ मत प्राप्त गर्दा आलमले १७९ मतमा सीमित भए।
निर्वाचित पटेल पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानु निकट मानिन्छन् भने पराजित आलम पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त निकट मानिन्छन्।
त्यसैगरी, उपसभापतिमा परितोष कुमार द्विवेदी १८४ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी निखिल बर्णवालले १७६ मत र विशाल कुमार पटेलले २९ मत प्राप्त गरे।
सचिव पदमा गौतम कुमार श्रेष्ठ २३२ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी जुनैद अन्सारीले १६६ मत पाए। सहसचिवमा मुन्ना साह तेली १८८ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी राज नन्दन प्रसाद कलवारले १७१ मत र ऋषिकेश गुप्ताले ४५ मत प्राप्त गरे।
यसैगरी सदस्य पदमा प्रमोद कुमार पटेल, रन्जित कुमार पटेल, आजम मन्सुरी, जितेन्द्र प्रसाद सोनार, अर्जुन पटेल, राजेश प्रसाद सोनार, मोहन प्रसाद सोनार, चन्दन महतो कहार, दीपक ठाकुर, सदरे आलम अन्सारी, कन्हैया साह, पिंकी कुमारी साह, राज्दा खातुन, अन्जु चौरसिया, पूर्णीमा शर्मा, मीना देवी, सावित्री घिमिरे, शोभा गुप्ता र दिप्सना गिरि निर्वाचित भएका छन्।
महानगर नेतृत्व चयनका लागि आइतबार बेलुकी सम्पन्न निर्वाचनमा कुल ४८४ मतदातामध्ये ४८३ मत खसेको प्रमुख निर्वाचन अधिकृत तुलसा अधिकारी पौडेलले जानकारी दिइन्।




