काठमाडौं,१८ जेठ । नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह सँग नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिबारे स्पष्ट विवरण माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै राईले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानमा असर पुगेको टिप्पणी गरे। उनले संसद्मा गरिएको उक्त अभिव्यक्ति रेकर्डमा बसेको र त्यसले दीर्घकालीन नजिर बनाउन सक्ने बताए।
राईले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममै उभिएर नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो भन्ने विषयमा “एक–एक इन्चको हिसाब” दिनुपर्ने माग गरे। यो विषय राष्ट्रिय सुरक्षा र स्वाभिमानसँग जोडिएको भन्दै उनले स्पष्टता अनिवार्य रहेको उल्लेख गरे।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिको समर्थनमा सत्ता पक्षका सांसदहरूले ताली बजाएकोप्रति पनि असन्तुष्टि जनाउँदै यस विषयमा आत्ममन्थन आवश्यक रहेको बताए। साथै, परराष्ट्र मन्त्रालयले उक्त अभिव्यक्तिलाई ‘क्रस–बोर्डर अकुपेसन’सँग जोडेर व्याख्या गरेकोप्रति पनि उनले प्रश्न उठाए।
राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व र राष्ट्रहितविपरीत रहेको छ, जसले नेपालले भारतसँग गर्दै आएको सीमा दाबीलाई समेत कमजोर बनाउन सक्ने खतरा रहेको छ।




