काठमाडौं,१८ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलित पत्रकारहरूको क्षमता विकास, सुरक्षा र प्रोत्साहनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएकी छन्।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले दलित पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि, खोज पत्रकारितामा प्रोत्साहन तथा कार्यस्थलमा भौतिक र मानसिक सुरक्षाको सुनिश्चितता गर्न राज्य र सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।
भण्डारीले मिडिया क्षेत्रभित्र समावेशी नीति कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै दलितको मुद्दालाई केवल एउटा समुदायको विषय नभई राष्ट्रिय सरोकारको विषयका रूपमा लिनुपर्ने बताइन्।
उनले भनिन्, “मिडियालाई साँच्चिकै लोकतान्त्रिक र निष्पक्ष बनाउने हो भने आन्तरिक रूपमा समावेशी नीति कडाइका साथ लागू गर्नुपर्छ।”
पूर्वराष्ट्रपति भण्डारीले पत्रकारिताको भूमिका समाज रूपान्तरणमा महत्वपूर्ण हुने उल्लेख गर्दै त्यसको दुरुपयोग हुन नहुनेतर्फ पनि सचेत रहनुपर्ने धारणा राखिन्। सरकार र सञ्चार सम्बद्ध संस्थाहरूले दलित पत्रकारहरूको लागि लक्षित कार्यक्रम ल्याएर उनीहरूको व्यावसायिक विकासमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो।




