काठमाडौँ,१८ जेठ । नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेले सोमबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको अभिव्यक्तिले देशको स्वाभिमानमा असर पुगेको भन्दै एमालेले उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको हो। यसैलाई लिएर एमाले काठमाडौं जिल्ला कमिटीले माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा सहभागीहरूले “सार्वभौम संसदबाट राष्ट्रविरोधी अभिव्यक्ति बन्द गर”, “राष्ट्रियता हराएको मान्छे मुर्दावाद”, र “नेपालको सीमा रक्षा गर” लगायतका नारा लगाएका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै राजीनामासमेत माग गरेका छन्।
एमाले नेता आनन्द प्रसाद पोखरेल ले नेपालले भारतीय भूमि कतै पनि नमिचेको दाबी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यविपरीत रहेको टिप्पणी गरे। उनले संविधानमा उल्लेख गरिएको नेपालको चुच्चे नक्सासँग समेत प्रधानमन्त्रीको भनाइ बाझिएको आरोप लगाए।
एमालेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नसच्चिएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएको छ।




