काठमाडाैं,१८ जेठ । डडेलधुरामा बेपत्ता भएका सशस्त्र प्रहरीका एक जवानसहित दुई जना महाकाली नदीमा मृत अवस्थामा फेला परेका छन्।
सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर सोमबार बिहान मृत फेला परेका हुन्।
प्रहरीका अनुसार तीर्थबहादुर थापाको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा भेटिएको हो भने जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्र नजिक भारततर्फको नदी किनारमा फेला परेको थियो।
डडेलधुराका डीएसपी बरुणबहादुर सिंहले दुवै जनाको शव फेला परेको पुष्टि गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए।
थापाको शव पोस्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको छ।
यता, भारततर्फ फेला परेका सशस्त्र प्रहरी जवान पुन मगरको शव भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेपछि सम्बन्धित पक्षलाई बुझाउने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




