काठमाडौँ,१८ जेठ । श्रम संस्कृति पार्टीकाे अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि जनाउँदै त्यसको भर्त्सना गरेको छ।
पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइलाई राष्ट्रिय हितविपरीत रहेको आरोप लगाइएको छ। विज्ञप्तिअनुसार संसद्को बैठक पूर्वनिर्धारित कार्यतालिकाबिना जेठ १७ गते बोलाइएको र त्यसको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति भारत भ्रमणमा जानुलाई पार्टीले विशेष अर्थका साथ हेरेको जनाएको छ।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीले संसद्मा दिएको “नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ” भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यस्तो भनाइले नेपाल–भारत सीमा विवादको विषयलाई कमजोर बनाउने दाबी गरेको छ। पार्टीका अनुसार उक्त अभिव्यक्तिले विशेष गरी लिपुलेक र लिम्पियाधुरा सम्बन्धी नेपाली जनताको मागलाई प्रभावित पार्न सक्ने जोखिम बढाएको छ।
अध्यक्ष हर्क साम्पाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्रीजस्तो उच्च पदमा रहेको व्यक्तिले दिएको यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको आधिकारिक धारणा र सीमा सम्बन्धी अडानबारे अन्योल सिर्जना गर्न सक्ने उल्लेख गरिएको छ। पार्टीले यसलाई नेपालको छवि र कूटनीतिक अवस्थामाथि नकारात्मक असर पार्ने विषयका रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिमा सरकारले नेपाली सेनाको भूमिकालाई प्रभावकारी रूपमा प्रयोग गर्न नसकेको आरोप पनि लगाइएको छ। सीमा सुरक्षामा आवश्यक ध्यान नदिएको तथा सेनालाई अन्य कार्यमा केन्द्रित गरिएको भन्दै पार्टीले सरकारको आलोचना गरेको छ।
श्रम संस्कृति पार्टीले वर्तमान सरकार देशको भौगोलिक अखण्डता र सीमा सुरक्षाप्रति पर्याप्त रूपमा प्रतिबद्ध नरहेको दाबी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा विरोध जनाएको छ। साथै, राष्ट्रिय हितसँग सम्बन्धित विषयमा सरकारलाई स्पष्ट र जिम्मेवार धारणा सार्वजनिक गर्न आग्रह गरेको छ।




