काठमाडौँ,१८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदले प्रश्न उठाएकी छन्।
धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङ ले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँग नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने दाबीबारे तथ्य र प्रमाण सार्वजनिक गर्न माग गरेकी हुन्।
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेपालले भारतको कुन–कुन भूभाग, कहिले र कसरी अतिक्रमण गरेको हो भन्ने स्पष्ट विवरण सार्वजनिक गर्न आग्रह गरेकी छन्। हालसम्म अधिकांश नेपालीले भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्ने तथ्य मात्र सुन्दै आएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि नयाँ प्रश्न उठेको बताएकी छन्।
तामाङले उक्त विषयमा प्रमाणसहित स्पष्टता दिनु आवश्यक रहेको बताउँदै सरकारको धारणा सार्वजनिक रूपमा प्रस्ट हुनुपर्नेमा जोड दिएकी छन्।




