काठमाडौँ,१८ जेठ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह लाई नेपालले भारतको भूमि मिचेको भन्ने दाबीसम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएको छ।
सोमबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रञ्जित कर्ण ले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट विवरण माग गर्दै समयसीमा तोकेका हुन्।
उनले भने, प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतको केही भूभाग मिचेको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको प्रमाण सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। कर्णले २४ घण्टाभित्र नेपालले भारतको कुन–कुन स्थानमा भूमि मिचेको हो भन्ने विवरण दिनुपर्ने बताए।
कांग्रेसले यदि निर्धारित समयभित्र तथ्य र प्रमाण प्रस्तुत गर्न नसकिए प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने पनि माग गरेको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूभागमा अतिक्रमण गरेको हुनसक्ने उल्लेख गरेका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक दलहरूबीच बहस र विवाद चर्किएको छ।




