बीरगन्ज,२० जेठ । सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयरले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एक थान पानी डिस्पेन्सर सहयोग गरेको छ।
कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा संस्थाका पदाधिकारीहरूले ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई उक्त डिस्पेन्सर हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरणपछि दुवै पक्षबीच समुदायको हित, सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि तथा सामाजिक सहकार्यका विषयमा समेत छलफल भएको थियो।
संस्थाका अनुसार सडकमा दिनरात खटिने ट्राफिक प्रहरी कर्मचारी तथा विभिन्न कामका लागि कार्यालय पुग्ने सेवाग्राही नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। सर्कल अफ केयरले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित विभिन्न क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जनाएको छ।
कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरूले समाज विकास तथा जनसेवामा संलग्न निकायहरूसँग सहकार्य गर्दै अघि बढ्नु संस्थाको प्राथमिकता रहेको बताए। उनीहरूले समुदाय र सेवामुखी संस्थाबीचको समन्वय तथा साझेदारीले सामाजिक परिवर्तनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
साथै शिक्षा, स्वास्थ्य, सरसफाइ तथा अन्य सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाइएको थियो।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कटवालले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यसले प्रहरी कर्मचारी र सेवाग्राही दुवैलाई प्रत्यक्ष लाभ पुग्ने बताए। उनले सामाजिक संस्थाहरूको सहयोगले सार्वजनिक सेवाको प्रभावकारिता र नागरिकमैत्री वातावरण निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा नरेश भंसाली, दिलिप कार्की लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सर्कल अफ केयरले समाजसेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता सहयोगमूलक कार्यक्रमले समुदाय र सरकारी निकायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने धारणा राखेका थिए।
सर्कल अफ केयरले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुरूप सहयोग तथा जनहितका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।




