जनकपुर,२० जेठ । महोत्तरी प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गौशाला नगरपालिका–१२, पडरियास्थित इनार (कुवा) खन्ने क्रममा ३६ फिट तल काठको ठुटो फेला परेको थियो।
उक्त ठुटो काट्न सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरका १९ वर्षीय बसन्तकुमार महतोले पेट्रोल चेनस प्रयोग गरी इनारभित्र रहेको काठ काट्ने क्रममा मेसिनबाट निस्किएको धुवाँका कारण गत शनिबार अपराह्न बेहोस भएका थिए।
बेहोस भएका महतोलाई उपचारका लागि तत्काल सर्लाहीस्थित ईश्वरपुर नगर अस्पताल, बयलवास पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
स्थानीयका अनुसार गौशाला नगरपालिकाको बजेटमा वडा स्तरीय ठेक्का प्रक्रियामार्फत कृषि सिँचाइका लागि इनार खन्ने क्रममा उक्त काठको ठुटो फेला परेको थियो। सो ठुटो काट्न अस्वीकार गर्दा मृतक महतोलाई ठेकेदारलगायतका व्यक्तिले करकाप गरी गहिरो इनारभित्र पस्न बाध्य बनाएको र त्यसकै कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका बुवा चन्द्रप्रकाश महतोले पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो।
जाहेरीका आधारमा प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ का ३५ वर्षीय सोनुलाल चौधरी र ३१ वर्षीय सतेन्द्रप्रसाद महतोलाई पडरियास्थित घटनास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो।
पक्राउ परेका दुवै जनाविरुद्ध महोत्तरी जिल्ला अदालतबाट मङ्गलबार पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ। डिएसपी गोलेका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी छ।




