काठमाडौं,२८ जेठ । नेपाली कांग्रेसका नेता तथा निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएको आन्तरिक मतभेद समाधान गर्दै बृहत्तर एकता कायम गर्न साझा सहमतिको संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्।
१५औँ महाधिवेशनअघि पार्टीभित्र बढ्दो गुटगत दूरीले संगठन कमजोर हुने जोखिम रहेको उल्लेख गर्दै महतले एकता कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्।
उनका अनुसार नियमित महाधिवेशनको तयारीमा रहेका समूह र विशेष महाधिवेशनबाट नेतृत्वमा आएका समूहबीच देशभर मनोवैज्ञानिक दूरी बढ्दै गएको छ, जसले संगठनात्मक एकतामा असर पार्न सक्ने अवस्था सिर्जना गरेको छ।
महतले दुवै पक्षबीच प्रत्यक्ष संवादमार्फत साझा समझदारी कायम गर्नुपर्नेमा जोड दिँदै निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व रहने गरी महाधिवेशन सम्पन्न गर्न संयन्त्र आवश्यक रहेको बताए।
उनका अनुसार प्रस्तावित संयन्त्रले महाधिवेशनको प्रक्रिया, क्रियाशील सदस्यताको विवाद तथा विधान संशोधनजस्ता विषय टुंग्याउने भूमिका खेल्न सक्छ। उनले यसलाई पद वा भागबन्डाको माध्यम नभई संक्रमणकालीन व्यवस्थाका रूपमा लिनुपर्ने धारणा राखे।
क्रियाशील सदस्यता व्यवस्थापनमा देखिएको अन्योलप्रति टिप्पणी गर्दै उनले लामो समयदेखि नवीकरण गरेका सदस्यलाई प्रक्रियागत अस्पष्टताका कारण बाहिर राख्न नहुने बताए। डिजिटल अद्यावधिकको जिम्मेवारी केन्द्रले लिनुपर्ने र तल्लो तहलाई दोष दिन नहुने उनको भनाइ छ।
महतले हालको पार्टी संरचना अस्थायी प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन निर्णयहरू १५औँ महाधिवेशनबाटै हुनुपर्ने बताए। उनले पार्टी एकताबद्ध नभए जनविश्वास पुनः हासिल गर्न कठिन हुने चेतावनी दिँदै संवाद र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए।




