spot_img

आज असार १५ : दही–चिउरा खाँदै देशभर राष्ट्रिय धान दिवस मनाइँदै

spot_img
spot_img

काठमाडौं, १५ असार । ‘मानो रोपेर मुरी उब्जाउने’ विश्वाससँग जोडिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर विविध कार्यक्रमका साथ मनाइँदै छ। कृषि प्रधान नेपालमा यो दिनलाई किसानका लागि वर्षकै सबैभन्दा महत्वपूर्ण कृषि तथा सांस्कृतिक पर्वका रूपमा लिइन्छ।

आज कृषि, वन तथा वातावरण मन्त्रालय, स्थानीय तह तथा विभिन्न संघसंस्थाको आयोजनामा खेतमा धान रोपेर, असारे गीत गाउँदै र दही–चिउरा खाँदै राष्ट्रिय धान दिवस मनाउने कार्यक्रम भइरहेको छ। सरकारले विसं २०६२ सालदेखि असार १५ लाई औपचारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो।

असार महिनाको मध्यतिर खेतबारीमा विशेष चहलपहल देखिन्छ। किसानहरू हिलोमा धान रोप्दै असारे भाका गाउँछन् भने युवायुवतीहरू हिलो खेल्दै रोपाइँलाई उत्सवका रूपमा मनाउने परम्परा कायम छ। नेपाली समाजमा असारमा कम्तीमा एकपटक हिलोमा पस्नु शुभ मानिने सांस्कृतिक विश्वास पनि रहिआएको छ।

यस दिन दही–चिउरा खाने परम्पराले पनि विशेष महत्व बोकेको छ। खेतीपातीमा संलग्न किसानदेखि अन्य पेशा–व्यवसायमा रहेका नेपालीहरूले समेत दही–चिउरा खाएर पर्व मनाउने गर्छन्। हिलो र पानीमा लामो समय काम गर्ने किसानलाई शक्ति र शीतलता प्रदान गर्ने विश्वासका कारण दही–चिउरा खाने चलन बसेको मानिन्छ।

नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्यमा सगुनका रूपमा दही खुवाउने तथा दही–अक्षताको टीका लगाउने परम्परा आज पनि कायम छ। आयुर्वेदले पनि दही तथा मोहीलाई पाचन प्रणालीका लागि लाभदायक मान्दै स्वास्थ्य संरक्षणमा यसको महत्व उल्लेख गरेको छ।

यद्यपि, यस वर्ष असारको मध्यसम्म आइपुग्दा पनि देशका सबै क्षेत्रमा पर्याप्त मनसुनी वर्षा हुन नसक्दा धान रोपाइँ अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। धेरै स्थानका किसान आकाशे पानी र पम्पिङ सेटको भरमा रोपाइँ गर्न बाध्य छन्।

कतिपय जिल्लामा रासायनिक मल अभावको गुनासोसमेत आएको छ। तर कृषि, वन तथा वातावरण मन्त्रालयले भने देशमा आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहेको र वितरण प्रणालीलाई प्रभावकारी बनाएर किसानसम्म पुर्‍याउने काम भइरहेको जनाएको छ।

मौसमको अनुकूलता नहुँदा र केही व्यवस्थापकीय चुनौती रहे पनि नेपाली किसानहरू खाद्य सुरक्षा र कृषि आत्मनिर्भरताको आधार मानिने धान खेतीलाई सफल बनाउन उत्साहका साथ रोपाइँमा जुटिरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय