वीरगन्ज,२० जेठ । वीरगन्जका युवा समाजसेवी तथा अभियन्ता सन्तोष कुमार सर्राफले श्रीपुर स्कुलका विद्यार्थीलाई वर्षा र घामबाट जोगिन १०० थान छाता वितरण गरेका छन्।
‘सन्तोष जी इलेक्ट्रोनिक्स’ सञ्चालन गर्दै आएका सर्राफले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीलाई छाता वितरण गरेका हुन्। उनका अनुसार विद्यार्थीलाई शिक्षा प्रति प्रोत्साहन गर्नुका साथै दैनिक जीवनमा सहजता प्रदान गर्न यस्ता सहयोगात्मक कार्यक्रम आवश्यक छन्।
यसअघि पनि सर्राफले कापी–कलम, शैक्षिक सामग्री, खाद्यान्न तथा मिठाई वितरण गर्दै आएका छन्। यसपटक उनले विशेषगरी वर्षा र गर्मी मौसमलाई ध्यानमा राख्दै विद्यार्थीलाई छाता वितरण गरेका हुन्।
सर्राफले विगतका वर्षहरूमा विभिन्न धार्मिक तथा सामाजिक अवसरमा आर्थिक रूपमा कमजोर, असहाय तथा निमुखा समुदायलाई लुगा, खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गर्दै आएको पनि बताएका छन्।
स्थानीयवासीहरूले उनको सामाजिक सेवाको प्रशंसा गर्दै यस्ता पहलले समुदायमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका छन्। सर्राफले आगामी दिनमा पनि सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।




