काठमाडौँ,२२ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको ‘निलो क्रान्ति’ दीर्घकालीन नहुने दाबी गर्दै अबको विकल्प ‘हरित क्रान्ति’ मात्रै भएको बताएका छन्।
उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका घिसिङले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि वातावरणमैत्री र आर्थिक रूपान्तरणमा केन्द्रित ‘हरित क्रान्ति’ आवश्यक रहेको बताए।
उनका अनुसार विगतमा भएका राजनीतिक परिवर्तनहरूलाई विभिन्न ‘रङका क्रान्ति’का रूपमा व्याख्या गर्न सकिए पनि अबको आवश्यकता आर्थिक सुदृढीकरण र वातावरण संरक्षणसँग जोडिएको परिवर्तन हो।
घिसिङले आफ्नो पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको स्पष्ट पार्दै पार्टीको झण्डा र चुनाव चिह्नले पनि यही अवधारणालाई प्रतिनिधित्व गर्ने दाबी गरे।
उनले हरित क्रान्तिको केन्द्रमा सुशासन रहेको उल्लेख गर्दै जलस्रोतको अधिकतम उपयोग, जलविद्युत् उत्पादन विस्तार, हरित हाइड्रोजन र हरित युरियाको उत्पादनलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उज्यालो नेपाल पार्टीले आगामी दिनमा हरित क्रान्ति र सुशासनलाई मुख्य राजनीतिक एजेन्डा बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।




