बीरगन्ज,२३ जेठ । लगातारको वर्षापछि आएको पहिरोका कारण सङ्खुवासभाको दुई नगरपालिका जोड्ने प्रमुख सडकखण्ड अवरुद्ध भएको छ।
पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने बिहिबारे–भैसीचोक–पिपलडाँडा सडकखण्ड पहिरोले बगाउँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचखपन–७ र ८ बीच पर्ने चिङखुवा खोलामा समेत क्षति पुर्याएको छ। सोही बाढीका कारण बिहिबारे–पोख्राङ भित्री सडकखण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।
प्रहरीले जनाएअनुसार पहिरोले करिब १५ मिटरभन्दा बढी सडक बगाएको छ भने कल्लेरी क्षेत्रमा चिङखुवा खोलाको बाढीले सडक संरचनामा ठूलो क्षति गरेको छ।
पहिरोका कारण पाँचखपन र चैनपुरबीचको आवागमन पूर्ण रूपमा रोकिएको छ। शनिबार बिहानदेखि कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
स्थानीय तह, निर्माण कम्पनी र सरोकारवाला निकायको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।




