spot_img

मधेसमा सवारी दुर्घटनाको प्रमुख कारण बन्दै मोटरसाइकल

spot_img
spot_img

वीरगन्ज,२० जेठ | मधेस प्रदेशमा युवाहरूको मोटरसाइकलप्रतिको बढ्दो आकर्षण अहिले सवारी दुर्घटनाको मुख्य कारणका रूपमा देखा परेको छ। समथर र चिल्लो सडकमा ट्राफिक नियमको बेवास्ता गर्दै तीव्र गतिमा मोटरसाइकल चलाउने प्रवृत्तिका कारण युवाहरू दिनहुँ दुर्घटनाको सिकार भइरहेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया (बारा) को तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा मात्रै १९ हजार ७ सय ९३ वटा मोटरसाइकल दुर्घटना भएका छन्, जुन कुल दुर्घटनामध्ये सबैभन्दा बढी हो। यस्ता दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेमध्ये अधिकांश २५ देखि ४० वर्ष उमेर समूहका युवा रहेका छन्।

त्यसैगरी, बस, माइक्रो र टेम्पोबाट २ हजार ६ सय १८, कार, जिप र भ्यानबाट १ हजार ९ सय १२ तथा अन्य सवारीसाधनबाट ३ हजार २ सय ९८ वटा दुर्घटना भएका छन्। समग्रमा, यी दुर्घटनामा हालसम्म १ हजार ५ सय ३७ जनाको ज्यान गएको छ भने ३२ हजार ८ सय २५ जना घाइते भएका छन्।

दुर्घटनामा संलग्न चालकहरूको उमेर विश्लेषण गर्दा ४० प्रतिशत २५ देखि ४० वर्ष र ३९ प्रतिशत १६ देखि २५ वर्ष उमेर समूहका रहेको देखिन्छ। यसले युवाहरू नै बढी जोखिममा रहेको संकेत गर्छ।

प्रहरीका अनुसार प्रदेशमा हुलाकी तथा भित्री सडकहरूमा सवारीको चाप तीव्र रूपमा बढ्दै गएको छ। तर, सोही अनुपातमा ट्राफिक प्रहरी, उपकरण तथा पूर्वाधारको अभाव रहेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार जनशक्ति, उपकरण र सरोकारवाला निकायसँगको समन्वयको कमीले दुर्घटना नियन्त्रणमा चुनौती थपिएको छ।

हाल मधेस प्रदेशभरि ३ सय २ जनाको दरबन्दी भए पनि ५ सय २५ जना ट्राफिक प्रहरी कार्यरत छन्। दरबन्दी भएका १८ वटा ट्राफिक पोस्ट बाहेक ८१ वटा अतिरिक्त पोस्ट सञ्चालनमा छन्।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार सवारी साधनको संख्या तीव्र रूपमा बढ्दै गए पनि सडक पूर्वाधार सोही अनुपातमा विकास हुन सकेको छैन। नेपाल प्रहरीको कुल जनशक्तिमा मात्र ३.५ प्रतिशत ट्राफिक प्रहरी रहनु पनि अर्को चुनौती हो।

दुर्घटना न्यूनीकरणका लागि यस वर्ष सडक विभागसँगको सहकार्यमा ट्राफिक उपकरण खरिदका लागि १५ करोड रुपैयाँ बजेट छुट्याइएको छ, जसमा मधेस प्रदेशलाई अढाई करोड रुपैयाँ विनियोजन गरिनेछ। यसले सडक सुरक्षा तथा जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय