काठमाडौं,३० जेठ । मनसुनका बेला हवाई सुरक्षालाई थप सुदृढ बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हेलिकोप्टर उडानका लागि नयाँ सुरक्षा व्यवस्था लागू गरेको छ। प्राधिकरणले मनसुन अवधिभर मेडिकल उद्धार (एयर एम्बुलेन्स) बाहेकका सबै हेलिकोप्टर उडानमा दुई जना पाइलट अनिवार्य रूपमा राख्नुपर्ने निर्देशन दिएको हो।
उडान सुरक्षा मापदण्ड विभागले जारी गरेको मनसुन सर्कुलरमा प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ।
सर्कुलरअनुसार उडानअघि पाइलट र डिस्प्याचरले हेलिकोप्टरको प्राविधिक अवस्था, आवश्यक उपकरणहरूको उपलब्धता तथा न्यूनतम उपकरण सूचीको अनिवार्य परीक्षण गर्नुपर्नेछ। साथै उडान मार्ग, गन्तव्य विमानस्थल र आवश्यक परे प्रयोग गर्न सकिने वैकल्पिक विमानस्थलको मौसमसम्बन्धी सम्पूर्ण जानकारी लिएर मात्र उडान सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले मनसुनका समयमा बदलिँदो मौसम, कम दृश्यता तथा आकस्मिक जोखिमलाई ध्यानमा राख्दै सबै हेलिकोप्टर कम्पनीलाई सुरक्षा मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ। यस व्यवस्थाले उडान सुरक्षामा थप सुधार हुने र दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




