काठमाडौं,१६ असार । सप्तरी प्रहरीले १०५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–५ खोजपुर निवासी ६२ वर्षीय अमिन चौधरी रहेका छन्। उनलाई बोदेबर्साइन नगरपालिका–२ अन्तर्गत विष्णुपुर–बोदेबर्साइन सडकखण्डबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मंगलबार इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वमा खटिएको टोलीले मधेश प्रदेश–०१–००५ प २८८३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा शंका लागेपछि जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलको टुलबक्समा लुकाएर राखिएको १०३ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। त्यसबाहेक चौधरीको साथबाट थप १ ग्राम ४८० मिलिग्राम खैरो हेरोइन पनि फेला परेको छ।
बरामद लागुऔषधसहित पक्राउ परेका चौधरीमाथि इलाका प्रहरी कार्यालय कडरबोनाले लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।




