जनकपुर,३० जेठ । बर्दिया जिल्लामा लागूऔषध नियन्त्रण अभियानका क्रममा पछिल्लो ११ महिनामा ठूलो संख्यामा पक्राउ र बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गत साउनदेखि जेठ ३० गतेसम्मको अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न २ सय २२ जनालाई पक्राउ गरेका छन्। पक्राउ परेकामध्ये एक महिला र नौ जना विदेशी नागरिक रहेको प्रहरीको भनाइ छ।
यस अवधिमा ब्राउन सुगर, गाँजा, चरेश, अफिम, क्याप्सुल र कोरेक्स लगायतका लागूऔषध पनि बरामद गरिएको छ। यसअघि गत आर्थिक वर्षमा पनि तीन विदेशीसहित २ सय १५ जना लागूऔषधसहित पक्राउ परेका थिए।
भारतसँग ८३ किलोमिटर खुला सीमा जोडिएको बर्दियामा सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार बढी हुने गरेको प्रहरीले जनाएको छ। विशेषगरी बढैयाताल, गुलरिया र मधुवन क्षेत्रमा यसको गतिविधि बढी देखिएको छ।
स्थानीय तहका प्रतिनिधिहरूका अनुसार भारततर्फ ब्राउन सुगर सस्तोमा सहजै उपलब्ध हुने भएकाले केही नेपाली युवा त्यसतर्फ आकर्षित हुने गरेका छन्। रोकथामका लागि विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि जनाइएको छ।
प्रहरी र प्रशासनले भारतसँगको समन्वयमा सीमावर्ती क्षेत्रमा निगरानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। भारतीय पक्षले कडाइ गरेमा ओसारपसारमा कमी आउने विश्वास स्थानीय र प्रशासन दुबैको छ।




