काठमाडौं,३० जेठ । प्रशिक्षार्थी चिकित्सकहरूले श्रम ऐनको पूर्ण कार्यान्वयन र कार्यस्थलमा सुधारको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा कार्यरत प्रशिक्षार्थी चिकित्सकमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
प्रदर्शनमा सहभागी चिकित्सकहरूले हप्तामा कम्तीमा एक दिन अनिवार्य बिदा, दैनिक कार्य समयको स्पष्ट सीमा तथा अत्यधिक ड्युटी व्यवस्थाको अन्त्य गर्नुपर्ने माग राखेका छन्। उनीहरूका अनुसार हाल धेरै प्रशिक्षार्थी चिकित्सकले लामो समयसम्म लगातार काम गर्नुपर्ने बाध्यता झेलिरहेका छन्, जसले उनीहरूको स्वास्थ्य, अध्ययन र व्यक्तिगत जीवनमा प्रत्यक्ष असर पारिरहेको छ।
प्रदर्शनकारीहरूले कतिपय अवस्थामा ३६ घण्टासम्म निरन्तर ड्युटी गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो अभ्यासलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका छन्। उनीहरूका अनुसार बिहान सुरु भएको ड्युटी अर्को दिन साँझसम्म चल्ने अवस्था सामान्यजस्तै बनेको छ, जुन श्रम अधिकार र मानवोचित कार्य वातावरणको मर्मविपरीत रहेको उनीहरूको भनाइ छ।
प्रदर्शनका क्रममा चिकित्सकहरूले श्रम ऐन लागू गर्न, अत्यधिक कार्यघण्टा हटाउन र स्वास्थ्यकर्मीमाथिको श्रम शोषण रोक्न माग गरेका प्लेकार्ड प्रदर्शन गरेका थिए। साथै, चिकित्सकीय शिक्षादेखि सेवा प्रणालीसम्म रहेका संरचनागत समस्याहरू समाधान गर्न पनि सरकारलाई आग्रह गरेका छन्।
चिकित्सकहरूको भनाइमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको कार्य वातावरण सुधार अपरिहार्य छ। उनीहरूले कार्यघण्टा, बिदा र पेशागत सम्मान सुनिश्चित हुने वातावरण निर्माण गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन्




